प्रथम पटक प्रकाशित https://www.setopati.com/blog/239714
सागर पौडेल POSTED ON : भाद्र 24, २०७९ (7:50 PM)

यो प्रसङ्ग वि. स. २०७५ साल फागुन महिनाको हो।त्यतिबेला म एम.बि.एस दोस्रो वर्षको परिक्षा सकेर बसेको थिए । दोस्रो वर्षको नतिजा आई सकेको थिएन र फुर्सदको समय सदुपयोग गर्न बिहानमा फेरि एम.ए इकोनोमिक्स जोइन भएको थिए भने दिउँसोको समयमा थेसिस सक्ने तयारीमा थिए । थेसिस सक्न अझै थप दुई महिना जति लाग्ने थियो । त्यतिबेलासम्म औपचारिक रूपमा कुनै पनि जागीरको सुरुवात गरेको थिइन् । त्यसैबेला कुनै जागीर गर्नु पर्ने आवश्यकता पनि महशुस भएको थियो।
आफू व्यवस्थापनको विद्यार्थी भएको हुँदा बैंकमा जागीर गर्ने ठुलो इच्छा थियो । धेरै सथिहरु पनि बैंक तथा बित्तिय संस्थाहरुमा जागीर गरि रहेका थिए । त्यही समयमा एक प्रतिष्ठित निजी बैंकले ट्रेनी असिस्टेन्ट सँगै अन्य पदमा केही कर्मचारी मागेको थियोे । आफ्नो योग्यता मिल्ने र बैंकले माग गरे बमोजिमका अन्य आवश्यकताहरु पुरा हुने हुँदा मैले ट्रेनी असिस्टेन्टमा दर्खास्त भरेको थिए । बैंकले परिक्षाको मिति तोक्यो, फोन गरेर खबर दियो, तोकिएको परिक्षा केन्द्रमा गए अनि परिक्षा पनि दिए । त्यो जागीरको लागि परिक्षा दिएको मेरो पहिलो अनुभव थियो । केहि दिन पछी बैंक बाट मलाई फोन आयो । तपाईं सागर जी हो ? भन्यो । मैले हजुर हो म भने ! तपाईंको लिखितमा नाम निस्केको छ ! अब अन्तर्वार्ताको लागि हाम्रो हेड अफिसमा पर्सि तीन बजे हजुरको समय छ् । आउनुहोला? भन्यो ।
निर्धारित समयमा नै अन्तर्वार्ताको लागी म कार्यालय पुगे त्यहाँ म सँगै अन्य प्रतिस्पर्धीहरु पनि थिए । अन्तर्वार्ताको समय केही क्षण ढिलो भयो । खासै चिनेका प्रतिस्पर्धीहरु पनि थिएनन् । त्यतिकैमा नजिकैका दुईजना साथिहरु एक आपसमा कुरा गर्दै थिए । एकजनाले भने यो बैंकको सि.ई.ओ त हाम्रो आफ्नै नजिकको मान्छे हुनुहुन्छ मेरो त पक्का भैसकेको छ नाम निक्लने अन्तर्वार्ता त औपचारिकता पूरा गर्न लाई मात्र आएको हो भने । फेरि अर्को साथिले कुरा गरे म पनि संचालकको आफन्त हो भने।
मैले सबै कुरा सुनेर बसेको थिए । मैले पनि बिस्तारै अरु प्रतिस्पर्धीहरु लाई नचिनेका भए पनि घुमाउरो पाराले सोधे तपाईंको त नाम पक्का निक्लन्छ होला? मैले सोधेँ जति सबै जना नाम निकाल्नेमा विश्वस्त थिए । र नाम निकाल्ने कारणहरु थिए मेरो भिनाजु बैंकको मेनेजर हुनुहुन्छ, एच. आर. मेनेजर मेरो मामा हुनुहुन्छ, सबै भन्दा धेरै शेयर लगानी गर्ने शेयरहोल्डरको मान्छे हुँ, त्यति मात्र हैन यो बैंकको सि.ई.ओ र संचालक फलानो राजनीतिक पार्टीका हुन् फलानो नेता, सांसद तथा मन्त्रीले भनेको सबै मान्छ मलाई उसैले सबै सेटिङ्ग मिलाई दिइएको छ ।
कसैले पनि यो पदको लागि म योग्य छु, मेरो क्षमता छ, राम्रो सँग तयारी गरेको छु, राम्रो सँग अन्तर्वार्ता दिन्छु भनेनन् । यो हिसाबले त मेरा माथीका जागीर पाउने कुनै पनि कारण थिएनन् नत सेटिङ्ग मिलाउन सकेको थिए । मन मनै सोँचे म योग्य छु, काम गर्ने इच्छा र तत्परता पनि छ। तैपनि यो प्राभेट बैंकमा जागीर पाउन यत्रो सेटिङ्ग मिलाउन पर्ने ! अब जे त होला आइहालियो अन्तर्वार्ता दिन्छु । ह्या भयो म त लोकसेवा नै भिड्ने हो। सरकारी जागीर नै खाने हो ! आदि विभिन्न कुराहरु मनमा खेल्न थाले ।
केहि समय पछी मेरो अन्तरबार्ता दिने पालो आयो। सबैलाई नमस्कार गर्दै अन्तरबार्ता कक्ष भित्र पसे । भित्र पाँच जना अन्तर्वार्ताकर्ता थिए । सबैले पालै पालो प्रश्नहरु गरे मैले पनि सबै उत्तर चित्तबुझ्दो गरि दिने प्रयास गरे।
चार पाँच दिन पछी बैंक बाट फोन आयो सागर जी बधाई छ! तपाईंको नाम निस्केको हुँदा पर्सि बिहान दस बजे हेड अफिस आउनुहोला प्रीट्रेनिङ छ । त्यसपछि म सोही बोलाएको दिनमा बैंकको हेड अफिस पुगे ।सुरुको दिन बैंकमा जाँदा सि.ई.ओ. ले एच. आर म्यानेजरलाई सोधे उहाँ लाई तार्गेट सुनाउनु भयो? मलाई उत्सुकता लाग्यो! के रैछ टार्गेट भन्नी ? एच. आर म्यानेजरले एकै छिनमा हामीहरुलाई भने बैंकमा खातावाला ग्राहकको संख्या कति वृद्धि गर्नु पर्ने, निक्षेप कति संकलन गर्नु पर्ने र कर्जा को आयतन कति बिस्तार गर्ने । बल्ल थाहा भयो त्यस्तो पो रैछ टार्गेट भन्नि ।
मैले मन मनै सोचे यो बैंकले दिएको टार्गेट मैले पुर्याउन सक्दिनँ । मेरो स्वभाव नै अरु सँग झुकेर यस्तो काम गर्न सक्ने छैन । मेरो बैंकमा खाता खोल्दिनु पर्यो हजुर ! पैसा जम्मा गर्नुहोस् हामी अरुको भन्दा धेरै व्याज दिन्छौं । लौन हाम्रो बैंक बाट ऋण लैजानुहोस्, हामी सस्तो व्याजदरमा दिन्छौं ! त्यति मात्र हैन मेरो जागिरको लागी भए पनि यति गरि दिनुहोस् न ! भन्नको लागि मेरा धनी र व्यापारी आफन्त र साथीहरू पनि थिएनन् ।
म त ट्रेनी असिस्टेन्टमा अर्थात तालिमी सहायक काम सुरु गर्दै छु । छ महिना सम्म मलाई बैंकले तालिम दिएर योग्य ठानेमा मात्र बैंकको स्थाई नियुक्ति गर्ने हो । सुरुमै टार्गेट ! मैले अहिले सम्म जाने भनेको त्यही सैद्धान्तिक ज्ञानहरु मात्र हो । कसरी हुन्छ त पुरा । सुरुमा त मैले सिक्नै पर्छ । बल्ल पो थहा हुन्छ कसरी पूरा गर्ने टार्गेट भनेर ।
त्यतिकैमा मैले एच.आर मेनेजर लाई सोधेँ हाम्रो तलब कति हुन्छ सर? उनले भने छ महीना सम्म बाह्र हजार जति अनि त्यस पछी उन्नाइस हजार हुन्छ ।
त्यसपछि अर्को दिन कार्यलय समयमा नै बैंकमा पुगे । सुरुमा मलाई सि. एस्. डि ( कस्टुमर सर्बिस डेस्क) मा राखियो । पहिले-पहिले बैंकमा जाँदा बैंकरहरुले काम गरेको देख्दा आनन्द लाग्थ्यो । हुन पनि बाहिर बाट हेर्दा अत्यन्तै आकर्षक र सफा पोशाकहरु लगाएका कर्मचारीहरु, सहकर्मीहरु बीचको सुमधुर सम्बन्ध, आकर्षक कार्यलय स्थल र संरचना आदि ती औपचारिकताहरु निकै लोभ लाग्दो हुन्थ्यो । वाह् बैंकका कर्मचारीहरु कति राम्रा ! पैसा त टन्नै कमाउछन होला जस्तो लाग्थ्यो । बल्ल थाहा भयो बास्तबिक बैंक भित्रको चुरो कुरो । बाहिर जे देखिन्छ नि त्यो भन्दा धेरै फरक हुँदो रैछ बैंक भित्र । बाहिर जति औपचारिकता देखाएता पनि प्रायः कुनै पनि तहका बैंकिङ कर्मचारी खुशी थिएनन् ।
त्यही रहेका एकजना पुरानो कर्मचारीले भने! किन प्राइभेट बैंक रोज्नु भयो? तपाईलको त उमेर छ सकभर अन्य क्षेत्रमा लाग्नु होस् यता त सारै गाह्रो हुन्छ । सधैं भरि तनाव मात्र हुन्छ । बैंकको काम बाहेक केहि सोच्न पनि सकिँदैन । घर परिवार, इष्टमित्र, साथी सङ्गीहरु, रङ्ग रमाइलो केहिलाई समय दिनै सकिन्न । सधैं व्यस्त रहिन्छ । कार्यालय आउने जाने समयको निश्चितता नै हुँदैन । नत अतिरिक्त कामको पैसा पाइन्छ । बल्ल-बल्ल सकि नसकी एकचोटी टार्गेट पूरा गर्यो फेरि अर्को टार्गेट सुरु भै हाल्छ । जिन्दगीमा आफ्ना टार्गेटलाई भुलेर खाली बैंकको टार्गेट भन्दै हिड्नु परेको छ् ।
फेरि तिनै कर्मचारीले भने । सुन्नुहोस् तपाई लाई मेरो तितो अनुभव भन्छु । म र एउटा साथी सँगै एउटै पोस्टमा नियुक्ति भएका हौं । उनको र मेरो योग्यता बराबर थियो । उनले बैंकले दिएको टार्गेट सधैं पूरा गरे उनी बढुवा भएर अहिले सिनियर असिस्टेन्ट छन् । म यति इमानदार र लगनशील भएर काम गर्दा पनि यहि पोस्टमा छु । मैले बैंक म्यानेजमेन्टलाई भन्दा भाइ हजुरको कार्यसम्पादन मूल्याकंन हामी इमान्दारिता र लगनशीलतामा हैन हामी व्यावसायिक परिणाम हेर्छौ भने ।
अर्को दिनमा पुनः म बैंकमा गए एच.आर मेनेजरले भने हजुर मनाङ जानु पर्ने भयो भने । सबै सथिहरुलाई उनीहरुलाई अनुकूल पर्ने शाखाहरुमा खटिएको थियो । मेरो मास्टर्सको थेसिस सकिएको थिएन । दुई महिना पछी जान्छु भनेर अनुरोध गरे तर कुरै सुनेनेन। माफ गर्नुहोला सर अर्को चोटि कोशिश गर्नुहोला भने। हस हुन्छ भनेर म निस्किए । यदि त्यो परिक्षा प्रणाली मर्यादित र निष्पक्ष थियो भने मेरो नाम दुई नम्बरमा निस्केको थियो । मलाई पनि सामान्य अनुकुल मिल्ने शाखामा राख्नु पर्ने थियो । बल्ल थाहा भयो नातावाद र कृपावादको सेटिङ्ग कस्तो हुनि रैछ भनेर । अब म कहिल्यै प्राइभेट बैंकमा जागीर गर्दिन भन्दै बैंक वाट निस्किए । सायद त्यो मेरो लागि संयोग थियो वा बास्तबिकता त्यो मैले बुझ्न सकिन । प्रायः धेरै बैंक तथा वित्तीय संस्थाहरुमा जनशक्ति भर्ना, छनौट, विकास तथा सम्भार प्रक्रिया यस्तै नै हुने गरेको देखिन्छ ।
त्यसो त बैंक तथा वित्तीय संस्थाहरुले देशको आर्थिक विकासमा ठुलो भूमिका खेलेका छन् । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको संजाल बढे सँगै अर्थतन्त्रमा ठुलो हिस्सा बैंकिङ कर्मचारीले ओगटेको देखिन्छ । भने देशमा पूँजी निर्माण, गरिबी निवारण, उद्यमशील संस्कृतिको विकास, ग्रामीण क्षेत्रको मौद्रिकीकरण, बैंकङ प्रणालीको विकास जस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुको नियमन निकायको रूपमा रहेकोे अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था नेपाल राष्ट्र बैंकको भूमिका पनि यो ज्यादै न्यून देखिन्छ । नेपाल राष्ट्र बैंकको कुनै पनि अल्पकालीन तथा दीर्घकालीन योजना तथा रणनीतिहरुले निजि बैंकका मानव संसाधन प्रणाली सम्बन्धि स्पष्ट खाका तर्जमा गरि कार्यान्वयन गर्न सकेको छैन । नातावाद र कृपावादको पहुँच पुर्याउन नसक्ने क्षमता वाहन व्यक्तिहरुलाई पनि प्राभेट बैंकमा जागीर पाउन सक्ने गरि उचित मानव संसाधन प्रणालीको विकास गरि सामाजिक न्याय स्थपित गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकले बैंकिङ कर्मचारीको श्रम अडिट कार्य लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कुनै संस्थाका कर्मचारीहरुको खुशी सूचकांक मापन गर्न पनि जरुरी छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो बैंकिङ उत्पादनको गुणस्तर पक्ष र रणनीतिक प्रतिस्पर्धात्मक क्षमता विकासलाई ध्यान दिनु पर्दछ । सधैं कर्मचारीलाई मात्र टार्गेटको दबाब दिने परिपाटी अन्त्य गर्नु पर्दछ । यस्ता रणनीतिले अल्पकालमा सफल भए पनि दीर्घकालमा नराम्रो असर पार्न सक्छ । कुनै पनि कर्मचारी बैंक तथा वित्तीय संस्थाका सम्पत्ति हुन् उनिहरुलाई सधैं खुशी राख्न सक्ने गरि उत्प्रेरणाको विकास गरौं ।
सागर पौडेल
पोखरा महानगरपालिका, कास्की
शिक्षक सिद्ध बराह उच्च मा . बि ( व्यवस्थापन संकाय)
Leave a comment